नेपाल नै नदेखेका बर्माका नेपाली, नेपाली बोल्छन्, यहाँकै चाड मनाउँछन्

क्लाउडपत्रिका

काठमाडौं । बर्मामा जन्मेर थाइल्याण्डमा व्यवसाय खडा गरी सफलता हासिल गरेका कुमार कार्कीले आफ्नो जीवनका मुख्य घटनाको संस्मरण सहितको पुस्तक ‘जीवन संघर्ष’ बजारमा ल्याएका छन् । पुस्तकमा बर्मा, थाईल्याण्ड र नेपालको कथा समावेश छ ।

बर्मामा नेपालीहरूको प्रवेश कसरी भयो ? उनीहरूले कसरी बर्मामा बसाइँ सरे ? कसरी उनीहरूको जीविकोपार्जन सुरु भयो ? उनीहरूले नेपाली भेष, भाषा र संस्कृतिको सयौँ वर्षसम्म कसरी जगेर्णा गरे ? नेपाल र नेपाली समाजप्रति उनीहरूको किन धेरै स्नेह र ममता भयो ? कहिल्यै नेपाल नआउने नेपाली मूलका बर्मेलीहरूले कसरी भाषा र संस्कृतिको संरक्षण गरिरहे ? जस्ता अनगिन्ती प्रश्नहरूको उत्तर यस पुस्तकमा पाउन सकिन्छ । बर्मामा हाल करिब तीनलाख नेपाली मूलका मानिसहरू बसोबास गर्छन् । उनीहरुले ठूलो प्रयासले नेपाली भाषा संस्कृति जोगाएका छन् भने चाडपर्व पनि नेपालकै मनाउँछन् । थाईल्याण्डमा पनि एकलाख भन्दा बढी नेपाली मूलका मानिसहरू बसोबास गरिरहेका छन् ।

बर्मा र थाईल्याण्ड नेपाली भाषा र संस्कृतिको जगेर्नामा क्रियाशील दुई देश हुन् । यी दुबै देशहरूमा दोस्रो विश्वयुद्ध ताकादेखि नै नेपालीहरूको बसोबास रहँदै आएको छ । यी दुई देशहरूमा नेपालीहरूको मौलिक पहिचान, आफ्नो पहिचान कायम राखिरहन नेपाली मूलका व्यक्ति तथा संस्थाले गरेको कामको बारेमा सामग्रीहरू पनि यस पुस्तकमासमावेश छन् ।

चार भागमा बाँडिएको यस पुस्तकको पहिलो खण्डमा बर्मामा नेपालीहरूको बसोबासको सुरुवातको कथा समावेश छ भने दोस्रो खण्डमा एउटा आप्रवासी कामदारको रूपमा थाईल्याण्डमा गरेका दुःख र संघर्षका कथाहरू समावेश छन् । तेस्रो खण्डमा थाईल्याण्डमा नेपालीहरूको संगठित प्रयासको कुरा समावेश छ भने चौथो खण्डमा नेपालमा महाभूकम्पपछि थाई नेपाली संघको तर्फबाट भएका सेवा र सहकार्यका सामग्रीहरू समावेश छन् । यसै खण्डमा कार्कीले आफूले व्यवसाय गर्दा पाएका सफलताका कथा समावेश गरेका छन् ।

कुमार कार्कीको प्रारम्भिक लेखन र मिडियाकर्मी रमेश खड्काको सम्पादनमा तयार भएको यो पुस्तकले बर्मा,थाईल्याण्डमा नेपाली भाषा,संस्कृति र सभ्यता जागरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसअघि बर्मा र थाईल्याण्डमा पुस्तकको विमोचन भइसकेको छ । मिडिया सर्भिस नेपालले यो पुस्तक प्रकाशन गरेको हो ।

पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम सामाजिक कामहरूमा लगाइने भएको छ । पुस्तक सार्वजनिकीकरण कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनको लागि पनि पुस्तकको बिक्रीबाट आएको केही रकम, कुमार कार्कीको परिवार र थाई नेपाली संघको तर्फबाट पाँचलाख रकम हस्तान्तरण गरिएको छ ।
बर्मा र थाईल्याण्डमा रहेका नेपाली मूलका मानिसहरूले नेपाललाई पितृभूमिको रूपमा मान्दछन् । जीवन संघर्ष पुस्तकमा पनि कार्कीले जन्मभूमि बर्मा,कर्मभूमि थाईल्याड र नेपाललाई पितृभूमिको रूपमा उल्लेख गरेका छन् ।

सारांशमा यो पुस्तक कुमार कार्कीको कथा मात्र हैन, हजारौं नेपाली मूलका मानिसहरूको कथा हो । यसले दुबै देशमा रहँदै आएका नेपाली मूलका मानिसहरूको कथा,संवेदना, खुशी र देशप्रेमको कथालाई बोक्दछ ।

कार्की अध्यक्ष रहेको थाई नेपालीसंघमा थाईल्याण्डमा रहेका नेपालीहरूको एउटै मात्र साझा संस्थाको रूपमा रहेको छ । यसमा हाल ८० हजारभन्दा बढी नेपालीहरू सदस्यको रूपमा रहेका छन् । करीब ९ वर्षअघि स्थापना भएको यो संघले नेपाली भाषा,संस्कृति र पहिचान संरक्षणका लागि गरेका कामहरू उदाहरणीय छन् ।

संघले सिन्धुपाल्चोकको मेलम्ची नजिकै रहेको माझीगाउँमा भुकम्पले भत्काएका ४६ वटा घरको पुनर्निर्माण गरेको थियो जसको नेतृत्व कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here