बैंकहरुको शेयर धितोमा लगानी दोब्बर वृद्धि, कर्जा लिनेमा ठूला लगानीकर्ताको वर्चश्व

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा प्रवाह गर्ने कर्जा दोब्बर बढेको छ ।

कोरोनाका कारण समग्र अर्थतन्त्र प्रभावित हुँदा अन्य क्षेत्रमा अपेक्षित कर्जा प्रवाह हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले शेयरमा कर्जा लगानी बढाएका हुन् ।

बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमा भित्रै रहेर कर्जा लगानी गरेका छन् । शेयर बजारले गति लिँदै जाँदा लगानीकर्ता उत्साहित भई लगानी बढाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई लगानी गर्ने प्रवृत्ति बढेसँगै शेयर कर्जा उल्लेख्य वृद्धि भएको हो ।

राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढाएको थियो । जसको प्रभाव कर्जा विस्तारमा देखिएको छ ।

शेयर कर्जा लिनेमा ठूला लगानीकर्ताको वर्चश्व देखिएको छ । १० महिनाको अवधिमा लगानी भएको कुल कर्जामध्ये ६८ प्रतिशत १ करोडभन्दा माथिको दरले लगानी भएको राष्ट्र बैंकले जनाएको छ । कुल ९४ अर्ब कर्जा लगानी हुँदा ६४ अर्ब रुपैयाँ १ करोडभन्दा माथिको कर्जा लगानी भएको छ ।

यस्तै, ११ अर्ब ५३ करोड रुपैयाँ १ करोडभन्दा मुनि ५० लाखससम्मका दरले लगानी भएको छ । २५ लाखदेखि ५० लाखका दरले १२ अर्ब १३ करोड लगानी भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा ९४ अर्ब ३४ करोड रूपैयाँ कर्जा लगानी गरेका छन् ।

यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ९९.१८ प्रतिशत प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वैशाख मसान्तसम्म जम्मा ४७ अर्ब ३६ करोडलाख रुपैयाँ शेयर कर्जा लगानी गरेका थिए ।

चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा करिब साढे २४ प्रतिशतले बढ्दा शेयर कर्जा भने शतप्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाले चालू आवको १० महिनामा मात्रै थप ४६ अर्ब ९७ करोड रुपैयाँ करोड सेयर कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

गत असार सम्ममा बैंकहरुले ५० अर्ब ४० करोड ९७ लाख रुपैयाँ शेयर कर्जा लागनी गरेका थिए । १० महिनामै त्यस्तो कर्जा लगानी ८७ प्रतिशतले वृद्धि भई ९४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

कोरोनाको प्रभाव कम हुँदै गए पनि अझै अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा फर्किन सकेका छैनन्, जसकारण ती क्षेत्रबाट अपेक्षित रूपमा धेरै कर्जा माग हुन सकेको छैन । यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले शेयर कर्जा विस्तार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here