भर्चुअल गतिविधिले फस्टायो मोबाइल व्यापार, आयात दोब्बर वृद्धि

काठमाडौं, १२ साउन । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा मोबाइलको माग बढेको छ । कोरोनाका कारण शिक्षण सिकाइ, कम्पनीहरुको मिटिङ लगायत भर्चुअल माध्यमबाटै गर्ने चलन बढेसँगै मोबाइलको प्रयोग ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

एकै परिवारमा अलग-अलग कक्षामा पढ्ने विद्यार्थीको पढ्ने समय एकै हुनाले एक परिवारमा आवश्यक भन्दा बढी मोबाइल किन्नु पर्ने बाध्यता रहेको छ । अनलाइन क्लासका साथै जुममार्फत हुने विभिन्न भर्चुअल बैठक र सेमिनारमा पनि मोबाइलको प्रयोग बढी हुने गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । यो अघिल्लो आव २०७६/७७ को तुलनामा दोब्बभन्दा धेरै हो । राजश्व बापत मात्र नेपाल सरकारले पाँच अर्ब ८४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। आव २०७६/७७ मा जम्मा १८ अर्ब १७ करोडको मोबाइल आयात भएको थियो ।

विभागका अनुसार गत आवमा कुल ७० लाख ३० हजार मोबाइल सेट आयात भएको छ । यो हालसम्मको सबैभन्दा धेरै मोबाइल आयातको परिमाण हो । आव २०७६/७७ को भन्दा यो परिमाण २६ लाख ६५ हजार बढी हो । सो वर्ष ४३ लाख ६५ हजार वटा मोबाइल सेट आयात भएको थियो ।

त्यसबाट सरकारले २ अर्ब ८७ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको तथ्याङ्क देखाएको छ ।

नेपालले चीन, भारत, भियतनाम, अमेरिका लगायत मुलुकबाट धेरै मोबाइल आयात गरेको छ । पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै जानु कोरोना महामारीको कारण अनलाइन कक्षा सञ्चालन हुनुले नै मोबाइलको माग बढेको व्यापारीको दाबी छ ।

मोबाइलको विकाससँगै यसले अरू विद्युतीय माध्यमलाई विस्थापित गर्दै गइरहेको छ। मोबाइलमा नै रेडियो, क्यामेरा, घडी, टर्चको सुविधा विकास भएपछि यी सामग्रीको प्रयोग कम हुँदै गएको छ ।

बालकदेखि वृद्धसम्म सबै किसिमको जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल मानवजीवनको अभिन्न अंगजस्तै पर्यायवाची बन्दै गएको छ।

नेपालमा पनि नयाँ नयाँ मोबाइल आयात हुँदै गएका छन्। रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट पनि मोबाइलको आयात बढ्दो क्रममा रहेको अवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here