देउवा नेतृत्व सरकारको १०० दिनमा २४ उपलब्धि, कामभन्दा आलोचना धेरै

काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ।

गएको असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते कांग्रेस सभापति देउवाको नेतृत्वमा पाँच दलीय संयुक्त सरकार गठन भएको हो । ।

देउवालाई नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासम्मिलित ५ दलीय गठबन्धनको समर्थन रहेको छ ।

यस अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ। देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना सङ्क्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ।

पछिल्लो तथ्याङ्कले कोरोना नियन्त्रण उन्मुख भएको पुष्टिसमेत गरेको छ। एकैदिन तीन लाख मात्रासम्म खोप लगाउन सक्नुलाई पनि सफलताको मापन मान्न सकिन्छ।

प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउने सरकारको पहिलो प्राथमिकता हुने उद्घोष गरेका थिए।

सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धतासमेत जनाएको छ। सरकारले १८ वर्षमुनिका बालबालिकालाई समेत खोप दिइने सुनिश्चितता गरेको छ।

छोटो अवधिमै वर्तमान सरकारले सफल खोप कूटनीतिमार्फत एक करोड ५० लाख खोप व्यवस्थापन गर्नुका साथै लक्षित नागरिकमध्ये ३२ दशमलव ६ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको छ।

सरकारले सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति, लगानीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम, कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज, प्रभावकारी रुपमा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलगायत महत्वपूर्ण काम गरेको छ।

यसैगरी, चुस्त सुरक्षा व्यवस्था, प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार, विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि, सडक तथा यातायातको पहुँच विस्तार, देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानूनी मस्यौदा तयारलगायतका कार्यमा पनि सन्तोषजनक काम भएका छन्।

वर्तमान सरकार गठन भएको छोटो समयमै सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको, विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको, सरकारी कागजातको ‘डिजिटल अर्काइभिङ’ सुरु गरिएको, दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि ‘डिस्टेन्स लर्निङ’को प्रक्रिया सुरु गरिएको छ।

यस्तै क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक रु पाँच हजार भत्ता दिने निर्णय, अतिविपन्न गरिब घर परिवारलाई प्रतिघर परिवार रु दश हजारका दरले राहत दिने घोषणा, युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा, साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु पाँच लाख दिने घोषणालाई पनि वर्तमान सरकारका सकारात्मक कदमका रुपमा लिन सकिन्छ।

कोरोनाको खोपसँगै अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई तुरुन्त जोखिम भत्ता उपलब्ध गराउने कदमलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ।

प्रधानमन्त्रीमा नियुक्त भएको सय दिनसम्म पनि देउवाले आफ्नै सचिवालय गठन सकेका छैनन् । अहिलेसम्म स्वकीय सचिव र प्रशासनिक सल्लाहकार नियुक्त भए पनि राजनीतिक, आर्थिक, सूचना–प्रविधि, प्रेस, परराष्ट्र लगायतका सल्लाहकार नियुक्त हुन बाँकी छ ।

मन्त्रिपरिषदलाई ८८ दिनमा बल्लबल्ल मन्त्रिपरिषदलाई पूर्णता दिए पनि मन्त्री नियुक्तिको विषयमा कांग्रेस लगायतका दलहरुमा विवाद छ ।

यस्तै सांसद नै नरहेका प्रधानन्यायाधीशका आफन्त गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी विरोध भयो । विरोध र आलोचना बढ्दै गएपछि हमालले तीन दिनमै मन्त्री पदबाट राजीनामा दिनुभयो ।

यसैगरी साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेर भदौ १ मा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोमा पनि देउवा सरकारको आलोचना भैरहेको छ । एमालेबाट माधव नेपाल र जसपाबाट महन्थ ठाकुर समूहलाई छुट्टिएर नयाँ पार्टी गठन गर्न सहज हुने गरी अध्यादेश ल्याइएको थियो ।

दल विभाजन गर्ने उदेश्य पूरा भएपछि अध्यादेश फिर्ता गरिएको छ । गएको साउन १५ गते दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा देउवा सरकारले कुटनीतिक पहल गर्न सकेन ।

धामीलाई न्याय र दोषीमाथि कारबाही गर्न भारतसँग कुटनीतिक पहल नगरेको भन्दै आलोचना भैरहेको छ ।

यी हुन सचिवालयले सार्वजनिक गरेका सरकारका काम

१) सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति
२) सफल खोप कुटनीति
३) एक करोड ५० लाख खोप व्यवस्थापन
४) लक्षित मध्य ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए
५) लगानीमैत्री वातावरणको सृजना
६) नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम
७) कोभिडको मारमा परेका उद्योगी–व्यावसायीलाई राहत प्याकेज
८) प्रभावकारी रुपमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन
९) चुस्त सुरक्षा व्यवस्था
१०) प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
११) राजस्व संकलनमा उल्लेख्य वृद्धि
१२) स्टार्टअप व्यावसायलाइ प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार
१३) विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि
१४) सडक तथा यातायातको पहुँच विस्तार
१५) देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार
१६) सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको
१७) विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको
१८) सरकारी कागजातहरुको डिजिटल अर्काइभिङ सुरु
१९) दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टन्स लर्निङको प्रक्रिया सुरु
२०) प्रकृतिक विपत्तिमा तत्काल रेस्पोन्स
२१) क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय
२२) अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहात दिने घोषणा
२३) युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा
२४) साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप जनही रु ५ लाख दिने घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here