काठमाडौं । अमेरिकामा पहिलो पटक सुँगुरको मिर्गौला सफलतापूर्वक मान्छेको शरीरमा प्रत्यारोपण गरिएको छ । अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू ल्याङ्गोन हेल्थमा गरिएको शल्यक्रिया सफल भएको हो।
यसमा व्यक्तिको प्रतिरोधात्मक प्रणालीले सो मिर्गौलालाई ‘रिजेक्ट’ नगर्दा यो परीक्षण ठूलो सफलता बनेको हो ।
यसमा मानव शरीरले तुरुन्तै नकार्ने सुँगुरको टिस्युलाई हटाउन त्यसको जिन परिमार्जित गरिएको हो । यसमा शल्यक्रिया गरिएकी व्यक्ति चाहिँ केही समय अगाडि नै ‘ब्रेन डेड’ घोषणा गरिएकी थिइन् जसको मिर्गौलाले काम नगरेको लक्षण देखिन्थ्यो ।
त्यसैले उनका परिवारसँग अनुमति मागेर उनलाई लाइफ–सपोर्टबाट हटाउनु अगाडि यो परीक्षण गरिएको अध्ययनकर्ताहरुले रोयटर्ससँग बताएका छन् ।
यसमा तीन दिनसम्म नयाँ मिर्गौला उनको रक्तनलीसँग जोडिएर रहेको र बाहिरी शरीरमा पनि कायम रहेको बताइएको छ ।
वैज्ञानिकहरु जीवजन्तुको अङ्ग प्रत्यारोपण गर्ने सम्भाव्यताबारे दशकौँ अगाडिदेखि अध्ययन गरिरहेका छन् । तर हरेकपटक जनावरको अङ्ग प्रत्यारोपण गर्नासाथ हाम्रो शरीरले ‘रिजेक्ट’ गर्ने अर्थात नअपनाउने समस्या रहँदै आएको थियो ।
यसैको समाधानका लागि मोन्टगोमेरीको टिमले उक्त ‘रिजेक्सन’ निम्त्याउने सुँगुरको जिन परिमार्जित गरि हटाउने सिद्धान्तमा काम गरिरहेका थिए ।
‘गलसेफ’ नाम दिइएको सो परिमार्जित जिन युनाइटेड थेरापेउटिक्स कोप्र्स रिभिभिकोर युनिटले निर्माण गरेको थियो । यसपछि अमेरिकी खाद्य तथा औषध विभाग, एफडीएले यसलाई डिसेम्बर २०२० मा मासुको एलर्जी हुने मानिसहरुले प्रयोग गर्न सक्ने भनेर स्वीकृत गरेको थियो ।
सुँगुरबाट विकसित औषधि उत्पादन मान्छेमा प्रयोग गर्नका लागि एफडीएको विशेष अनुमति आवश्यक पर्दछ । यस्तोमा अहिले वैज्ञानिकहरु गलसेफ सुँगुर मानव बिरामीका लागि मुटुको भल्फदेखि छालासम्मको श्रोत बन्न सक्नेबारे विचार विश्लेषण गरिरहेका छन् ।
गम्भीर रुपमा बिरामीहरुका लागि यो उपायले मानव मिर्गौला नपाइन्जेल छोटो अवधिका लागि या ‘पर्मानेन्ट ग्राफ्ट’ का रुपमा समाधानको काम गर्ने अपेक्षा गरिएको छ । यद्यपि यो चिकित्सा विज्ञानमा राम्रो सफलता भएपनि कतिपयले भने नैतिकताको प्रश्न पनि उठाएका छन्। रोयटर्स