रोकिएन तरकारीमा विषादीको प्रयोग, ६ थरी तरकारी खानै नमिल्ने

काठमाडौं, ८ फागुन । काठमाडौं भित्रने हरिया तरकारीमा विषादीको प्रयोग नघटेको तथ्यांकले देखाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणले यस्तो देखाएको हो ।

चालू आर्थिक वर्षको ६ महिना (साउन-पुस) को अवधिमा १८ हजार ८ सय २६ वटा फलफूल तथा तरकारीको मात्रै नमूना परिक्षणमा ६ वटा नमूना खानै नमिल्ने गरी विषादी प्रयोग भएका छन् ।

६ वटा नमूना रेड जोन (होल्ड) मा के-के हुन् भन्ने तथ्यांकमा खुलाइएको छैन् ।

साथै, ९ वटा नमूनामा केही मात्रामा विषादी देखिएको छ । उक्त नमूना परिक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकु तथा आलूका ९ वटा नमूना पहेंलो जोनमा (केही मात्रामा विषादी) पाइएको छ ।

विभागले कात्तिक १ देखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण गर्दै आएको छ ।

यसअघि आयातित तरकारी तथा फलफूल केन्द्रीय कृषि प्रयोगशालाबाट मात्रै परीक्षण हुन्थ्यो ।

पछिल्लो समय खाद्यले पनि परीक्षण गरिरहेको छ। आयातित तरकारी सबैभन्दा धेरै कालिमाटी फलफूल तथा तरकारी बजारमा भित्रिन्छ । तर, आयातित तरकारीमा विषादीको मात्रा प्रभावकारी रुपमा परीक्षण हुने गरेको छैन ।

तथ्यांक अनुसार दुईवटा समूह (कार्बामेट र ओर्गानोफोस्फेट) विषादी भए-नभएको मात्रै परीक्षण हुने गरेको छ ।

एकाइको पछिल्लो ५ वर्षको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्रै विषादीको प्रयोगमा केही कमी आएको छ ।

तरकारीको विषादीमा ३५ प्रतिशतसम्म इनिमेसन रेटलाई हरियो, ३५ देखि ४५ प्रतिशतलाई पहेँलो र ४५ भन्दा माथिलाई रातो नम्बरको संकेत समेत दिइएको छ ।

विषादीको मात्रा ३५ प्रतिशत इनिमेसन रेट भन्दा बढी हुनु हुँदैन । ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य मानिए पनि केही समय भण्डारणमा राखी इनिमेसन रेट कम गरी खान मिल्छ । ४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका खाद्यवस्तु भने पूर्णत अखाद्य मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here