बीमा कम्पनीहरुलाई चुक्ता पूँजी वृद्धिको दवाब, मर्जरमा जाने कि हकप्रद दुई विकल्प

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बिहीबार बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ ।

समितिले अब जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब पुर्याउनु पर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै नेपाल लाइफ इन्स्योरेन्सबाहेक सबै कम्पनीलाई मर्जमा जाने कि हकप्रदमा जान दवाव पर्ने देखिन्छ । धेरैजसो कम्पनीहरूले अब हकप्रद मार्फत चुक्ता पुँजी पुर्‍याउने वा प्रमोटरबाट पैसा उठाएर चुक्ता पुँजी बढाउने दुई विकल्प मात्रै रहेका छन्।

मुख्यत कम्पनीहरूले हकप्रद मार्फत जनताको पैसा उठाउन सहज हुने भएकाले सोही साहरा लिने छन्।

हकप्रदकै साहरामा केही वर्ष अगाडि बैंक तथा वित्तिय संस्थाहरूको चुक्ता पुँजी बढाउन सेयर भ्यालुको हिसाब अहिलेसम्म पनि माथि उठ्न सकेका छैनन्।

समितिको नयाँ निर्देशनसँगै नेपाल लाइफ इन्स्योरेन्सबाहेक अन्य कम्पनीहरुले २०७९ चैत मसान्तसम्म कम्तीमा पनि ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनु पर्नेछ ।

नेपाल लाइफको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी अर्थात ८ अर्ब २० करोड ७८ लाख रुपैयाँभन्दा बढी भएकाले कम्पनीलाई पूँजी वृद्धिको लागि दबाव छैन । जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीले आइपीओ जारी गर्न बाँकी छ ।

जसमा महालक्ष्मी, सिटिजन्स, सन नेपाल, रिलायबल र आईएमई लाइफ इन्स्योरेन्सहरु हुन् । उनीहरुले हाल आईपीओ निष्काशन गर्ने प्रकृयामा रहेका छन् ।

सबैभन्दा धेरै पूँजी वृद्धि सरकारी स्वामित्वको जीवन राष्ट्रिय बीमा संस्थानले गर्नुपर्नेछ । हाल ९९ करोड ५३ लाख चुक्ता पूँजी रहेको रहेको यस कम्पनीले थप ४ अर्ब वृद्धि गर्नुपर्नेछ ।

यसैगरी, महालक्ष्मी, आइएमई लाइफ, रिलायबल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी हाल १ अर्ब ४० करोड रहेको छ । यी कम्पनीहरूले साधारण सेयर समेत जारी गरेका छैनन् । कम्पनीहरूले अब ३ अर्ब ६० करोड रुपैयाँ पूँजी बढाउनुपर्ने छ ।

यसैगरी, सिटिजनले ३ अर्ब २५ करोड रुपैयाँ पूँजी बढाउनु पर्ने भएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन २ अर्ब ३५ करोडवृद्धि गनुपर्ने छ ।

एसियन लाइफ इन्स्योरन्सले २ अर्ब ४९ करोड, प्राइम २ अर्ब २३ करोड, सूर्य लाइफ २ अर्ब ४५ करोड, गुँरास ३ अर्ब ८५ करोड, सानिमा ३ अर्ब, ज्योति २ अर्ब ५८ करोड, प्रभु लाइफ ३ अर्ब र रिलायन्स लाइफले २ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी वृद्धि गनुपर्ने छ ।

निर्जिवन बीमा कम्पनीमा जसमा सबैभन्दा बढी भार राष्ट्रिय बीमा कम्पनीलाई थपिनेछ। कम्पनीले अहिले भएको पुँजीमा ८३७ प्रतिशत रकम थप्नुपर्ने हुन्छ।

कम्पनीको हाल २६ करोड ६६ लाख मात्रै चुक्ता पुँजी भएको कम्पनीले २ अर्ब ५० करोड पुर्‍याउनुपर्नेछ। त्यस्तै शिखरले हकप्रद जारी गरेकोले केही सहज हुने छ।

कम्पनीको हाल १ अर्ब ७५ करोड रहेकोमा हकप्रदपछि २ अर्ब २८ करो पुग्ने भएकोले अर्को वर्ष नै बोनस सेयर मार्फत चुक्ता पूँजी पुग्ने देखिन्छ।

त्यस्तै नेको १ अर्ब ५२ करोड, सगरमाथा १ अर्ब ११ करोड, एनएलजीको १ अर्ब २० करोड, सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब १२ करोड, प्रिमियरको १ अर्ब ७४ लाख, प्रभुको १ अर्ब १६ करोड रहेको छ।

लुम्बिनी जनरलको १ अर्ब १९ करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड, हिमालयन जनरलको १ अर्ब १५ करोड, एभरेष्टको १ अर्ब १८ करोड, युनाइटेडको १ अर्ब २ करोड, जनरल १ अर्ब, अजोड १ अर्ब सानिमा १ अर्ब रहेको छ।

समितिका अनुसार आगामी वर्ष २०७९ चैत मसान्तभित्र बीमा कम्पनीहरूले तोकिएको चुक्ता पूँजी पुर्याउनु पर्नेछ । बीमा कम्पनीहरूले ३० दिन भित्र कसरी पूँजी वृद्धि गर्ने हो त्यसको योजना समितिमा पेश गर्नुपर्नेछ ।

अबको १ वर्ष भित्र निर्धारित पूँजी पुर्याउन नसक्ने कम्पनीहरूले मर्जर (गाभ्नेर गाभिने) प्रक्रियामा जानुपर्ने समितिले जनाएको छ । समितिको निर्णयसँगै बीमा कम्पनीहरूम पूँजी वृद्धि गर्नुपर्ने दबाब सृजना भएको छ । यससँगै कम्पनीहरुले बोनस तथा हकप्रदबाट पूँजी बढाउन सक्ने छन् ।

तर, बोनस तथा हकप्रदबाट मात्रै पूँजी वृद्धि नभएमा समितिले मर्जरलाई विशेष प्राथमिकतामा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here