सुर्तीजन्य पदार्थ सेवनमै बाहिरियो नेपालीको ९ महिना साढे २ अर्ब, कसरी छुटाउन सकिन्छ लत ?

काठमाडौं, ११ वैशाख । चालू आर्थिक वर्षको ९ महिना (साउन-चैत) मा नेपालमा झण्डै साढे २ अर्ब बराबरको सुर्तीजन्य पदार्थ आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गएको सात महिनामा २ अर्ब ४२ करोड ३८ लाख बढीको सुर्तीजन्य पदार्थको आयात भएको हो ।

विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोही समयमा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थहरु आयात भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन्।

यसैगरी विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ। यो डरलाग्दो तथ्यांक तपाईं हाम्रासामु उपलब्ध छ। तर पनि सुर्ती आयातामा भने कमी आएको छैन् ।

स्वास्थ्य क्षेत्रमा जनचेतना बढेको, सरकारले नागरिकलाई सचेत गराएको भन्नेजस्ता विवरण सार्वजनिक भएको भए पनि सुर्ती तथा सुर्तीजन्य पदार्थको आयातमा कमी आउन सकेको छैन।

देशभित्रै खेती गर्न सकिने सुर्ती पनि विदेशबाट आयात गरेर ठूलो धनराशी विदेश पठाइएको भन्दै आलोचना हुने गरेको भए पनि रोकिएको छैन। देशभित्र उत्पादन हुने सुर्तीको त अझै प्रणालीमा देखिएको छैन।

के कति मात्रामा खपत हुन्छ भन्ने कुनै विवरण भेटिँदैन। सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने क्यान्सर, मुटु, मधुमेह र दीर्घ श्वासप्रश्वासजस्ता रोग लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ।

सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा रु १०० जरिवाना वा हाताबाट निष्काशन वा दुवै सजाय हुनसक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा रु एक लाखसम्म जरिवाना तिर्नुपर्ने प्रावधान पनि छ ।

त्यस्तै, १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निःशुल्क उपलब्ध गराउन नपाइने, त्यस्तो गरेको पाइएमा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइनेलगायत आठ वटा प्रावधान पनि कानुनमा उल्लेख छ।

कसरी छुटाउन सकिन्छ लत ?

नेपालसहित विश्वभर कुनै न कुनै बहानामा धेरै व्यक्तिहरु सुर्तीजन्य पदार्थ सेवनको लतमा फसेका छन् ।

महिला, पुरुष, धनी, गरिव, बालबालिका, किशोर किशोरी, युवायुवती, बृद्धबृद्धादेखि चिकित्सक र स्वास्थ्यकर्मी समेतले लुकेर होस् या खुल्ला रुपमा नै किन नहोस् चुरोट तथा अन्य कुनै न कुनै सुर्तिजन्य पदार्थ सेवन गरिरहेका छन् ।

चुरोट, सुर्ती, खैनी, तमाखु आदि बढी मात्रामा प्रयोग हुने सुर्तीजन्य पदार्थ हुन् । सेवन गर्ने वित्तिकै तत्काल असर नपरे पनि लामो समय पछि यिनीहरुको गहिरो असर देखिने गर्दछ ।

कुनै पनि लतबाट मुक्त हुनु त्यति सजिलो कुरा पक्कै पनि होइन । सानैदेखि लागेको बानी कहाँ जान्छ र भन्छौं हामी ।

तर, लत त्याग्ने प्रयत्न गर्दैनौं । यदि कोशिस गर्ने हो भने लत हटाउन सकिन्छ सजिलै । भनिन्छ नी संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । त्यसका लागि हामीले निरन्तर इमान्दारीतापूर्वक प्रयत्न भने जारी राख्नुपर्छ ।

बानी परेको कुनै पनि कुराहरुलाई तत्काल छोड्न भने त्यति सजिलो हुँदैन् । यदि तपाईं पनि धुम्रपान गर्नहुन्छ वा खैनी, सुर्ती सेवन गर्नुहुन्छ भने आजैदेखि त्याग्नुहोस् ।

यस्ता पदार्थको सेवन छाड्ने सङकल्प गर्नु भयो भने असम्भव भन्ने कुनै कुरा हुँदैन् ।

यसरी सकिन्छ धुम्रपान त्याग्नः

१. धुम्रपानजन्य पदार्थहरु छाड्ने सङ्कल्प गर्दै चिकित्सकले भनेका कार्यहरु गर्ने

२. नशामुक्त केन्द्रमा गएर उपचार गर्ने,सुरु सुरुको अवस्थामा अन्य खानेकुराहरु जस्तैः छुर्पी, चकलेट आदिले मुखलाई व्यस्त बनाउनुहोस् ।

३. समयमा नै चिकित्सककोसल्लाह अनुसार उपचार गर्ने

४. खानपानमा विशेष ध्यान दिने, अमला आँप जस्ता खानेकुराहरु धेरै खाने

५. फाईबर युक्त खानेकुराहरु धेरै खाने

६. चिन्ताबाट मुक्त रहने, यसको लागि धेरै समय आफुलाई व्यस्त बनाउने

७. धुम्रपान र धुम्रपान जन्य पदार्थहरुबाट हुने समस्याहरुको बारेमा जानकारी लिने

८. क्यालोरी युक्त पदार्थको सेवन कम गर्ने र पेय पदार्थको प्रयोग धेरै मात्रामा गर्ने

९. प्रत्येक दिन व्यायाम गर्ने,सुर्ती चुरोट लगायत अन्य कुनै पनि सुर्तीजन्य पदार्थहरु आफ्नो घर अफिसबाट हटाउनुहोस् त्यसको सट्टामा मिठाई, चकलेट आदि राख्न्नुहोस् ।

१०. घरमा चुरोट, सुर्ती नराख्ने र यस्ता पदार्थहरु पाउने स्थानहरुबाट आफुलाई टाढा राख्ने

११. परिवारसँग धेरै समय विताउने