११ महिनामा ३४ अर्ब बढीको तरकारी आयात, आलु र प्याजमा परनिर्भरता बढ्दै

काठमाडौं, १३ असार । चालू आर्थिक वर्षको ११ महिनामा २२ अर्ब बढीको तरकारी जन्य उत्पादन आयात भएको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार साउन- जेठ मसान्तसम्ममा ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ ।

जसमा सबैभन्दा धेरै तरकारी छिमेकी देश भारतबाट आयात भएको छ ।

मासिक अर्बौैं रकमको तरकारी आयात भएतापनि नेपाली बजारमा हरियो तरकारीको मूल्य भने बढेको बढै रहेको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो ।

यस अविधिमा गोलभेडा, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भान्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय खेतीयोग्य जमिन घरघडेरीमा प्रयोजन हुन थालेपछि तरकारी उत्पादन कमी हुने गरेको छ । मुलुकमा भित्रिने रेमिट्यान्सको प्रभावले परनिर्भरता बढ्दै गएको कृषि विज्ञको भनाइ छ ।

कृषिमा पर्याप्त अनुदान नहुनु, आधुनिक कृषि प्रविधिको प्रयोग गर्न नसक्नु र किसानलाई पर्याप्त तालिम दिन नसक्दा नेपाली किसानले मागअनुसार तरकारीको उत्पादन गर्न सकेका छैनन् ।

त्यस्तै सिजनमा धेरै तरकारी उत्पादन भए पनि कोल्डस्टोरको अभावले गर्दा भण्डारण गरेर राख्न नसक्ने समस्या किसानले खेप्नुपरेको व्यवसायीहरू बताउँछन् ।

कृषक तथा व्यापारीले तरकारी कुहिने डरले उत्पादन हुनासाथ बिक्री गरिहाल्नुपर्ने बाध्यता छ । मुलुकमा करोडौंको तरकारी बाहिरबाट आयात भइरहँदा पहाडी जिल्लामा उत्पादित तरकारीको उपयोग हुन सकेको छैन ।

आलु र प्याजमा पनि भारतसँगै निर्भर

नेपालीहरूको भान्सामा धेरै प्रयोग हुने तरकारी प्याज र आलुमा नेपालको परनिर्भरता बढ्दै गएको छ ।

सो अवधिमा नेपालले आलु मात्र ७ अर्ब ६३ करोड ५२ लाख ४ हजार रुपैयाँको आयात गरेको छ । उक्त मूल्यमा ३० करोड ५६ लाख ४७ हजार ३९६ केजी आलु नेपाल भित्रिएको छ ।

सोही अवधिमा ५ अर्ब ६३ करोड ९० लाख २१ हजार रुपैयाँको १५ करोड ३८ लाख ५५ हजार ४१६ केजी प्याज नेपाल भित्रिएको छ ।

बितेको ११ महिनामा ९९ करोड ९३ लाख ९७ हजार रुपैयाँको ८६ लाख ८६ हजार ३६६ केजी लसुन नेपालले आयात गरेको छ ।

तराईदेखि मध्य पहाडसम्म खेती हुने प्याज र तराइदेखि हिमालसम्म खेतीहुने आलुको लागि विदेशीकै भर पर्नुपर्ने अवस्था रहेको छ ।

नेपालको जलवायु खेतीका उपयुक्त भएता पनि उत्पादन र उत्पादकत्व दुवै न्यून भएपछि आयातमा विदेशीकै भर पर्नुपरेको हो।

आलुको तुलनामा प्याजखेती नेपालमा कम हुन्छ भने प्याजको प्रयोग पनि कम हुने गरेको छ । कतिपय समुदाय प्याजको प्रयोग नै नगर्ने हुन्छन् भने कतिपय समुदाय प्याजबिना खाना नै नखाने पनि हुन्छन् ।

उत्पादित प्याज अधिकांश घरायसी प्रयोजनमै प्रयोग हुन्छ। व्यावसायिक रुपमा उत्पादन गरी बजारमा पठाउने किसान कमै छन्।

प्याज उत्पादनको झन्झटिलो विधि, बिरुवा हुर्काउन कठिन तथा उत्पादन हुने वेला भारतीय सस्तो प्याजसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले किसान प्याज लगाउन उत्साहित हुँदैनन् । जसको कारण नै विदेशीको भर पर्नुपर्ने अवस्था रहेको छ ।

किसानले प्याज उत्पादन गरेका वेला बजारमा मूल्य असाध्यै सस्तो पर्छ। उनीहरुसँग प्याजलाई भण्डार गरी राख्ने क्षमता हुँदैन। तर, आलु भने अधिकांसको भान्साको लागि अनिवार्य नै हुने गरेको छ । त्यस कारण नै आलुको आयत उच्च हुने गरेको छ ।

उक्त अवधिमा २० करोड ७० लाख १५ हजार रुपैयाँको च्याउ, २८ करोड ५० लाख ८४ हजार रुपैयाँको फ्रोजन आलु, १७ करोड २९ लाख ७३ हजार रुपैयाँको अदुवा, ३ अर्ब ७३ करोड ४४ लाख ४४ हजार रुपैयाँको केराउ र ३ अर्ब ३० करोड ५७ लाख ६२ हजार रुपैयाँको चना नेपाल भित्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here