मेगा बैंक दशौं वर्षमा, ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना

काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल मंगलवारबाट स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ ।

उक्त अवसरमा कमलादी स्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताए ।

बैंकको देशका ७७ वटै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक केन्द्र, हुलाकी तथा मध्य पहाडी राजमार्ग, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका\महानगरपालिकाहरुमा बैंकको सञ्जाल विस्तार गर्ने योजना रहेको उनले बताए ।

‘सरकारद्वारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत क्षेत्रको व्यावसायिक प्रवर्धन गर्न लगानी वृद्धि गर्दै जाने तथा सोही अनुरुप व्यापार प्रवर्धन गरिएका क्षेत्रका समुदायहरुसँग अन्तरघुलित हुन सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले स्थानीय निकाय र प्रदेश सरकारहरुसँग समन्वय गरी आवश्यकता र प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्दै प्राथमिकिकरण गरी सामाजिक उत्तरदायित्वको बजेट परिचालन गर्ने नीति लिएका छौँ’ उनले भने ।

सरकारको ‘मर्जर’ नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको अध्यक्ष शाहले बताए ।

‘मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौँ । सोही अनुरुप मर्जर कमिटी बनिसकेको छ । अध्यक्ष शाहले भने ।

कार्यक्रममा बैंककी सिइओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताइन् ।

मेगा बैंकले डिजिटाइजेशन र नवीनतम प्रविधिहरु भित्र्याएको बताउँदै क्यूआर कोड पनि त्यसकै उदाहरण भएको सिइओ खुञ्जेलीले प्रष्ट पारिन् ।

‘एक शाखा एक छोरी’ छात्रवृत्ति

वार्षिकोत्सवको अवसरमा सिइओ खुञ्जेलीले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा पनि गरिन् ।

छोरीहरुको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले ‘शिक्षानै ज्योति अभियान’ अन्तर्गत प्रत्येक शाखाबाट १\१ जना छात्राहरुलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहायताको शुरुवात भइसकेको उनले बताइन् ।

‘हाम्रो यस अभियानबाट छनौट भएका बालिकाहरुले आर्थिक अभावका कारण पढ्न नपाउने तथा बीचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य हुनेछ’ सिइओ खुञ्जेलीले भनिन् ।

यस्तो छ बैंकको प्रगती

मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन रु. १९ अर्ब बढेर करिब रु. ८२ अर्ब पुगेको बताएको छ । यसैगरी, कर्जा प्रवाह पनि रु. १५ अर्ब ५० करोड बढेर करिब रु. ७३ अर्ब पुगेको छ भने ग्राहक संख्या पनि झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको साथै कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको बैंकले जानकरी दिएको छ ।

देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर यसैगरी, १०२ वटा एटीएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय मेगा रेमिट एजेण्टहरुको सञ्जाल फैलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here