बाबुराम पौडेल
सामान्य अर्थमा शिक्षणविधि पठनपाठनमा अवलम्वन गर्न सकिने विभिन्न कलाहरुको संमिश्रण हो । शिक्षण र विधि मिलेर बनको यो शब्दको अर्थ पढाई र तरिका हुन आउँछ। तर फराकिलो अर्थमा शिक्षाको गुणस्तर उकासी व्यक्तिको जीवनस्तरमा इटा थपि उसको सामाजिक, आर्थिक, सास्कृतिक तथा हरेक पक्षमा सकरात्मक परिवर्तन ल्याउनका लागि प्रयोग हुने एक हतियार हो ।
नेपालको परिपेक्षमा हेर्ने हो भने २०७८ सालको जनगणनामा साक्षरता दर बढेपनि व्यक्तिमा देखिनुपर्ने सकरात्मक परिवर्तन आएको देखिदैन । यि सबै नेपालमा भएका शैक्षिक संस्थाहरुको शैक्षिक कार्यक्रममा अवलम्बन गरिएको शिक्षण विधिमा आएको फितलोपनलाई प्रमुख कारणको रुपमा लिन सकिन्छ। दक्ष जनशक्तिको अभाव, राजनैतिक नियुति, भौगोलिक विकटताका कारण हाम्रो देश नेपालमा शैक्षिक गुणस्तरमा ह्रास आएको छ ।
शैक्षिक सामाग्रीको सही प्रयोग गर्न नसक्दा पनि विद्यार्थीको कुनैपनि सुधार आएको देखिदैन । यसरी विद्यार्थीलाई परीक्षामा उतीर्ण गराउनका लागि शिक्षकले शिक्षा प्रदान गर्छ भने त्यस्तो ज्ञानले कुनै पनि औचित्य राख्दैन । शिक्षण विधिको चरणहरुलाई माध्यम बनाइ विद्यार्थीमा हरेक सिपको विकास गरी उसको जीवनमा आमुल परिवर्तन ल्याउन सक्नुनै शिक्षा हो ।
शिक्षण विधिलाई एक शिक्षकले हतियार को रुपमा लिन सक्छ । यसका कारण विद्यार्थीमा विकास भएका सिपका कारण उसले भविष्यमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न सक्छ।
तर नेपालमा अझैपनि पुरातन सोच भएका शिक्षकहरु रहेका पाइन्छ । उनीहरुले आफ्नो सोचलाई समय अनुकुल परिवर्तन गर्न सक्दैनन् । अर्को कुरा के छ भने विद्यार्थीसँग नजिक रहन का लागि शिक्षकले कलिला दिमाखहरुमा भावानात्मक ब्ल्याकमेल गर्दछ ।
यसो गर्दा बच्चाले कुनै पनि राम्रो कुरा शिक्षकबाट ग्रहण गर्दैन। कक्षाकोठामा गएपछि कुर्सीमा बसि सैदान्तिक विधिवाट चालिस मिनेट शिक्षकले आफ्नो कुरा मात्र राख्छ भने त्यो एक मृत कक्षाको संज्ञा हो ।
समय अनुकुल शिक्षकले आफ्नो शिक्षण विधिलाई परिवर्तन गर्न सिपको विकास हुनुपर्छ । अहिलेको समय भनेको २१ औं शताब्दी हो । यो समयलाई विद्यार्थीहरुलाई प्रविधिसँग टाढा राख्नु हुदैन । तर विडम्बनाको कुरा के हो भने कतिपय ठाँउमा अभिभावकलाई शिक्षकले विद्यार्थीलाई मोबाइल कम्प्यूटर छुन दिनुहुन्न भनेर पठाइन्छ । यस्तो खालको सोचाइलाई पक्कै पनि ढुङ्गे युगलाई इंगित गर्दछ ।
फराकिलो सोचाइ राखी भुगोल अनुकुल स्रोत र साधनको उपयोग गरि शिक्षकले आफ्नो शैक्षिक गतिविधिलाई लैजान सकेमा विद्यार्थीको ज्ञानदेखि ब्यवहार सम्ममा अवश्यनै परिवर्तन आउछ । विद्यार्थीलाई शिक्षकको भूमिका दिएमा उसमा नेतृत्व गर्ने कलाको विकास हुन्छ ।
यसैगरी शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण विधि अगाल्दा बच्चाको चौतर्फी विकास अवश्यनै हुन्छ । शिक्षकले समयलाइ ख्याल राखी शिक्षण विधिलाई अपनाएमा जस्तोसुकै विद्यार्थीले सफलता हासिल गर्दछ । कुनै पनि विद्यार्थी कमजोर हुदैना तर घरको वातावरण र शिक्षकले शिक्षण गर्दा प्रयोग गरेको शिक्षण विधिका कारण बच्चा कमजोर हुन्छ । यसमा दुवै पक्ष सर्तक हुनुपर्छ ।
बच्चालाई विद्यालयमा शिक्षकले प्रश्नपत्र आफैले निर्माण गर्न लगाउने र त्यसै लाई कक्षापरीक्षा लिएमा बच्चाको भित्री दिमाग बल्ल सक्रिय हुन्छ । शिक्षकले बच्चालाई किताबी ज्ञान मात्र दिएमा बच्चा लगाव लगाएको घोडा जस्तो हुन्छ ।
तर त्येहि बच्चालाई पढाइप्रति कसरी ध्यान दिने भन्ने कुरामा उत्प्रेरणा दिएमा उसले विभिन्न स्रोतको माध्ययमद्वारा आफ्नो पढाई सम्बन्धि समस्याको समाधान आफै खोजी अघि बढ्छ । यसरी बच्चालाई घरमा भएको प्रबिधिलाई कसरी आफ्नो पढाई सम्बन्धिको समस्यालाई समाधानका बिभिन्न उपाएहरु सिकाएमा बच्चा प्रबिधिमय हुनेछ र अन्य ज्ञानको खोजि आफै गर्नेछ ।
अन्तमा सरकारी तथा निजि विद्यालयमा शिक्षा गुणस्तर उकास्न शिक्षण बिधि र शैक्षिक सामाग्रीको सही प्रयोग हुनुपर्छ । विद्यार्थी केन्द्रित शिक्षालाई बढी ध्यानमा राखेमा बच्चाले निर्धक्क भएर आफ्नो काम गर्नेछ । र हरेक ठाउँमा विद्यार्थी आफैले नेतृत्व गर्न सक्छ । यसरी शिक्षा जस्तो महत्वपूर्ण कुरामा कमजोरीपन भएमा अन्य पुर्वाधारमा पनि ठूलो क्षेति पुर्याउनेछ ।
(लेखकः लिटिल स्टेप मा. बि पोखराका शिक्षक हुन् ।)