सन् २०१९ का चर्चित विश्व घटना

काठमाडौँ, १४ पुस । वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो ।

विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए ।

विश्वलाई नै रुहाउने कारुणीक घटनाहरु देखि अचम्मित पार्ने घटना तथा राजनैतिक उथलपुथल समेत सन् २०१९ मा देख्न र सुन्न पाईयो ।

खासगरी ठूला शक्ति राष्ट्रहरुको राजनैतिक तथा अन्य घटनाहरुले यो वर्ष पनि पहिलेका वर्षहरु जस्तै चर्चा परिचर्चा पाए । हाम्रै छिमेकी राष्ट्रहरु भारत र पाकिस्तानका केही घटनाहरुले पनि विश्वभरी नै चर्चा पाए ।

सन् २०१९ मा विभिन्न प्रकारका घटनाहरु विश्वभरि नै चर्चामा रहेपनि केही मुख्य १० घटनाहरु निम्न छन् ।

अमेरिका र उत्तर कोरियाबीच संवाद

दुई ठूला शक्ति राष्ट्रहरु अमेरिका र उत्तर कोरियाबीच सन् २०१९ मा दुई पटकसम्म बार्ता भयो । कुनै ठोस प्रकारका परिवर्तन वा निर्णय नभएपनि यी दुई राष्ट्रबिचमा भएको संवाद वा कुराकानीलाई ठूलो उपलब्धीको रुपमा हेरिएको थियो ।

सन् २०१९ मा अमेरिका र उत्तर कोरियाका शिर्ष नेताहरुबीच फेब्रुअरी २७ र २८ मा भियतनाममा र जुलाई १ मा उत्तर र दक्षिण कोरियाबीचको सिमानामा दुईपटक बैठक बसेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध यही डिसेम्बर १८ मा सदनबाट महाअभियोगको लागि प्रस्ताव भयो । यो घटनाले केही समयमा नै विश्वभर चर्चा पायो । ट्रम्प महाअभियोग दर्ता भएका अमेरिकी राष्ट्रपतिहरुमध्ये तेस्रो राष्ट्रपति हुन् । यो भन्दा अघि दुईजना राष्ट्रपति विरुद्ध अमेरिकामा महाअभियोग दर्ता भएको थियो ।

पूर्व पाकिस्तानी राष्ट्रपति मुसरफलाई मृत्युदण्डको फैसला

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफविरुद्ध यही डिसेम्बर १७ तारिखमा देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । यो घटनाले पनि निकै चर्चा पायो ।

यसपछि मृत्यदण्ड अगाडी नै उनको मृत्यु भएमा शवलाई ३ दिनसम्म झुण्ड्याएर राख्ने भन्ने फैसलाले झनै चर्चा पायो । यो विषय अझैपनि विरोधमा नै छ । पाकिस्तानी सेनाले यो फैसलाको विरोध गर्दै आएको छ । मुसर्रफ पाकिस्तानको इतिहासकै पहिलो व्यक्ति हुन् जसलाई संविधानको अपमान गरेको आरोप लागेको छ ।

बेलायतमा कन्टेनरभित्र ३९ जनाको सामुहिक शव भेटिनु

बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा अक्टोवर २३ तारिखमा एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेला परेको थियो । यो घटनाले पनि विश्वभरि नै चर्चा पाएको थियो । यी सबै मानिसहरु सुरुमा चिनीयाँ भनेपनि पछि सबै भियतनामी भएको कुरा बताईएको छ । ३९ जनामध्ये ३८ जना वयस्क र एक जना किशोर रहेका थिए ।

भारतमा वावरी मस्जिद र जम्मु काश्मिर

भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी ग¥यो । त्यसपछि जम्मु–काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महत्वपूर्ण दिनको रुपमा लिइएको छ ।

भारतकै अयोध्यामा वर्षौँ पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भयो । उक्त स्थानमा रहेको रामको मन्दिर हिन्दूहरुले आफ्नो क्षेत्रका रुपमा दाबी गरेका थिए भने इस्लामहरुले पनि उक्त क्षेत्रमा वावरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए । सर्वोच्च अदालतले सो स्थान हिन्दूहरुलाई दिने र इस्लामहरुका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला गर्यो ।

इजिप्टका पूर्व राष्ट्रपति मोर्सीको अदालतमै मृत्यु

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिने क्रममा ढलेर मृत्यु भयो । अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो । अदालतमा बयान दिन लागेको केहीबेरमा मोर्सी ढलेका थिए । प्रतिबन्धित मुस्लिम ब्रदरहुडका शीर्ष नेता ६७ वर्षीय मोर्सीका समर्थकहरुले भने उनको हत्या भएको आरोप लगाएका थिए ।

दुई सय २७ बालबालिकाको सामूहिक चिहान

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारे । आजसम्म फेला पारिएको यस्ता चिहानहरुमा यो सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका थिए ।

भारतको नागरिकता विवाद

नागरिकता सम्वन्धी संशोधित विधेयक पारित गरिएपछि पनि भारतका पश्चिम बङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने नयाँ व्यवस्थाको विरोध भएको हो ।

सान्ना विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएको विषयले यो बर्षको अन्त्यतिर निकै चर्चा पायो । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो । उनले मन्त्रीमण्डलमा महिलाको बहुमत र धेरै मन्त्री ४० बर्षभन्दा कम उमेरकालाई बनाएकी छिन् । गठबन्धन सरकारमा ५ वटा दल सहभागी भएका छन् ।

अमेरिका र चीनको व्यापार युद्ध

वर्तमान समयमा सामान्य भएपनि सन् २०१९ को पर्षभरि नै अमेरिका र चीनको व्यापार युद्धको मार सारा विश्वले नै खेप्यो । दुई ठूला अर्थतन्त्र भएका राष्ट्रहरु बिच देशमा आयात हुने सामानको विषयमा कर वृद्धि गर्ने विषयमा भएको व्यापार युद्धले सारा विश्वलाई नै असर पार्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here