निजगढ ‘गेम चेन्जर प्रोजेक्ट’ हो, पाँच वर्षमा जहाज उड्छ

काठमाडौं, २२ माघ । निजगढ विमानस्थल नेपालको लागि गेम चेन्जर परियोजना भएको र अबको पाँच वर्षमा जहाज उडाउने गरी काम गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

बैकल्पिक विमानस्थल अहिलेको हाम्रो योजना मात्र होइन, आवश्यकता पनि हो । त्यसमा हामी दायाँबायाँ हुन दिने छैनौं, नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने ।

कुनै पनि हालतमा निजगढमा विमानस्थल बन्ने बताउँदै उनले निर्माण प्रकृयामा प्रभाव पार्ने कार्यहरु हुँदै गएकाले यसको शिलान्यासमा १० लाख जनता उत्रिनुपर्ने बताए ।

‘निजगढ विमानस्थ नेपालको गेम चेन्जर प्रोजेक्ट हो, अहिले यसलाई प्रभाव पार्ने खालका गतिविधि बढ्दै गएका छन्’ उनले भने ।

अर्जुनदृष्टि निजगढ

त्रिभुवन विमानस्थल काठमाडौंमा चाप बढ्दै गएको कारण पनि निजगढको विकल्प नरहेको कारण सरकारको अर्जुनदृष्टिमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेको पनि मन्त्री भट्टराईले बताए ।

‘सरकारको अर्जुनदृष्टि निजगढ विमानस्थलमा नै छ’ उनले भने, ‘अब हामीले जसरी पनि ५ वर्षमा निजगढलाई व्यवसायीक उडान गर्नसक्ने बनाउनुपर्छ ।’

वार्षिक एक करोड पर्यटक

वार्षिक २० लाख पर्यटक भित्र्याउनको लागि संघर्ष गरिरहेको नेपालको लागि यस्ता गेम चेञ्जर प्रोजेक्टले वार्षिक १ करोड पर्यटक भित्र्याउन सहयोग गर्ने पनि मन्त्री भट्टराईले बताए ।

‘हामी अहिले वार्षिक २० लाख पर्यटक भित्र्याउन संघर्षरत छौं’ उनले भने, ‘यदी हामीले निजगढ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल जस्ता ठूला पर्यटकीय पूर्वाधार तयार गर्यौं भने १ करोड पर्यटक ल्याउन सहयोग पुग्छ । ’

यस्तो प्रोजेक्टहरुलाई ध्यानमा राखेर काम गर्ने हो भने जीवनभर हामी पर्यटनलाई स्वागत सत्कार गरेरै आफ्नो जीवन चलाउन सक्ने समेत हुनेछौं, उनले भने ।

के काम हुँदैछ विमानस्थलमा

पर्यटनमन्त्री भट्टराईका अनुसार अहिले निजगढ विमानस्थल निर्माणको लागि कति रुख काट्न पर्ने हो भन्ने विषयमा अध्ययन हुनुका साथै बस्ती स्थानान्तरणको लागि पनि काम भईरहेको छ ।

निजगढ विमानस्थल निर्माणको लागि सरकार लामो समयदेखि प्रयासरत छ । जसको लागि अर्बौ रकम खर्च समेत भइसकेको छ ।

कार्यक्रममा प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले मुलुकभर विमानस्थलको विकासका लागि तिब्ररुपमा काम भइरहेको बताए ।

उनका अनुसार दाङको विमानस्थलाई प्रादेशिक विमानस्थका रुपमा विकास गरिने भएको छ भने सुर्खेत विमानस्थलको रनवे विस्तार गरी रात्रीकालीन उडान गर्न सकिने बनाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here