विश्व अर्थतन्त्रलाई वित्तीय संकट, धेरै मारमा हवाइ र पर्यटन उद्योग

काठमाडौं, २३ फागुन । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को विश्वभर फैलिएको छ । अमेरिकासँगको ट्रेड वारका कारण थलिएको चिनियाँ अर्थतन्त्रलाई कोरोना भाइरसले झनै सिकिस्त बनेको छ ।

कोरानाको मारमा सबैभन्दा धेरै पर्यटन र हवाइ उद्योगहरु परेका छन् । विश्व बैंकको अध्ययन अनुसार कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान छ।

अमेरिकाबाट सुरू २००८ को वित्तीय संकटले विकसित मुलुकको अर्थतन्त्र ३.४ प्रतिशत, विकासशील मुलुकको २.९ र समग्र विश्व अर्थतन्त्र ०.१ प्रतिशत मात्र घटेको थियो।

चिनियाँ नयाँ वर्षको सेरोफेरोमा कोरोना भाइरस फैलिएकाले यसको आर्थिक असर व्यापक भएको अनुमान छ। पर्वको सेरोफेरोमा चीनमा खुद्रा व्यापार र यातायात गतिविधिमा ठूलो असर परेको छ। सिनेमा व्यापार लगभग शून्यमा झरेको समाचारहरूमा जनाइएको छ।

हाल चीन विद्युतीय सामग्री तथा अन्य प्राविधिक वस्तुको सबभन्दा ठूलो आपूर्तिकर्ता हो।

चिनियाँ उपभोक्ताले विश्व उत्पादनको ठूलो हिस्सा खपत गर्छन्। आन्तरिक तथा बाह्य वस्तुको खपतमा चिनियाँ उपभोक्ताको हिस्सा पछिल्ला वर्ष बढिरहेको छ।

त्यसैले चिनियाँ उपभोक्ताको आम्दानी घट्नु र उपभोगलाई उनीहरूले स्थगित गर्दै लैजाँदाको असर पनि विश्व अर्थतन्त्रमा ठूलो हुन सक्छ।

एयरलाइन्स उद्योगमा १३१ खर्बको क्षति

कोरोना भाइरसले विश्वका वायुसेवा कम्पनीहरुमा ११३ अर्ब अमेरिकी डलर (करीव १३१ खर्ब रुपैयाँ) बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एशोसिएशन (आएटा) का अनुसार सन् २०२० मा मात्र हवाई यात्रुमा आएको कमीले वायुसेवा कम्पनीहरुमा साे रकम बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको हाे।

यसअघि आएटाले २० फेब्रुअरीमा गरेको प्रक्षेपणमा २९.३ अर्ब डलर बराबरको क्षति हुने अनुमान थियो ।

एसियामा र यूरोपमा ठूलो क्षति

कोरोनाका कारण एसियाली मुलुकका एयरलाइन्सले ठूलो क्षति बेहोर्ने आएटाको प्रक्षेपण रहेको छ । सन् २०२० मा सबैभन्दा ठूलो क्षति इटाली र चीनले बेहोर्नेछन् ।

यस वर्ष चीनले कूल यात्रु संख्यामा २३ प्रतिशत गिरावटको सामना गर्नेछ । जापानले १२ प्रतिशत, सिंगापुरले १०, दक्षिण कोरियाले १४ र इटालीले २४ प्रतिशत यात्रुको गिरावट हुने अनुमान छ ।

नेपाल समेत रहेको एसिया प्यासेफिक क्षेत्रमा यात्रुको संख्या समग्रमा ९ प्रतिशतको गिरावट आउने छन् । यसले ७.६ अर्ब डलर बराबरको नोक्सानी हुनेछ ।

इटाली, जर्मनीसहित १० यूरोपेली मुलुकमा २४ प्रतिशतले यात्रु घट्दा ३७.३ अर्ब डलरको नोक्सानी यस भेगका कम्पनीले बेहोर्ने भएका छन् ।

फ्रान्समा १०, जर्मनीमा १० र इरानमा १६ प्रतिशतको गिरावट देखिने प्रक्षेपण आएटाको रहेको छ । समग्रमा हेर्दा अष्टे्रलिया, चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड र भियतनाममा मात्र २३ प्रतिशतले यात्रु गिरावट आउँदा यी मुलुकका वायुसेवा कम्पनीले ४९.७ अर्ब डलर बराबरको नोक्सानी बेहोर्ने भएका छन् ।

नेपाल अहिलेसम्म कोभिड–१९ बाट सिर्जित मानवीय क्षतिबाट जोगिन सके पनि यसले अर्थतन्त्रमा चौतर्फी असर पार्ने सङ्केतहरू देखा परिसकेका छन् । तर, सरकारले सम्भावित भयावह सङ्कटसँग जुध्न आवश्यक तयारी र सतर्कता अपनाएको छैन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना सङ्कटलाई नै सङ्केत गर्दै क्षेत्रीय र वैश्विक कारणले यो वर्षको आर्थिक वृद्धिदरमा चाप पर्ने बताइसकेका छन् । चीनसँग जोडिएको वैदेशिक व्यापार, पर्यटन, विकास निर्माणका आयोजनामा असर देखिन थालिसकेका छन् ।

त्यस्तै, चिनियाँसहित तेस्रो मुलुकका पर्यटकको आगमनमा जनवरी यता ठूलो गिरावट आएको छ, जसका कारण होटलहरूको बुकिङ ह्वात्तै झ्रेको व्यवसायीहरूले बताएका छन् । यस्तै, चीनबाट आयात ठप्प छ । चीनका उद्योग र अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा ‘अन्तर्राष्ट्रिय मूल्य शृङ्खला’ मै परेको प्रभावको असर भारत हुँदै नेपालमा भित्रिने आकलन गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here