कोरोना उपचार कोषमा २२ वाणिज्य बैंकको साढे २५ करोड जम्मा हुँदै

काठमाडौं, २० चैत । कोरोनाभाइरस रोगको संक्रमणको रोकथाम तथा नियन्त्रयणका लागि सरकारले स्थापना गरेको कोषमा २२ वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

यो रकम बैंकहरुले केन्द्रीय तथा प्रादेशिक कोषमा जम्मा गर्नेछन् । कतिपय बैंकले हरेक प्रदेशमा बराबर रकम उपलब्ध गराउने भएका छन् भने केहीले केन्द्रीय कोषमा बढी रकम र प्रदेशहरुलाई कम रकम बाँडेका छन् । त्यस्तै कतिपयले आफ्ना कर्मचारीहरुबाट पनि सहयोग गर्ने बताएका छन् ।

बाँकी पाँच बैंकहरु पनि नगद तथा अन्य सहयोग गर्ने क्रममा रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकहरुले दिने प्रतिवद्धता गरेको रकममध्ये प्राइम कमर्सियल बैंकको रकम सबैभन्दा बढी छ । उसले रु.१ करोड ७५ लाख दिने भएको छ । सानिमा बैंकले रु. १ करोड ६८ लाख र कृषि विकास बैंकले रु. १ करोड ६० लाख दिने भएका छन् ।

त्यसैगरी एनएमबी बैंकले रु. १ करोड ५१ लाख र राष्ट्रिय बाणिज्य बैंकले रु. १ करोड ५० लाखको प्रतिवद्धता गरेका छन् । नेपाल बंगलादेश बैंकले रु. १ करोड ४५ लाख तथा मेगा बैंक र नेपाल बैंक प्रत्येकले रु. १ करोड ३५ लाख दिने भएका छन् ।

रु. १ करोड भन्दा माथिको प्रतिवद्धता जनाउने अन्य बैंकमा बैंक अफ काठमाण्डु, ग्लोबल आईएमई, हिमालयन, लक्ष्मी, माछापुच्छ्रे, एनसीसी, नेपाल एसबीआई, नेपाल इन्भेष्टमेण्ट र प्रभु रहेका छन् ।

यसका साथै चैत ७ गतेदेखि बैंकहरुले इण्टरनेट तथा मोबाइलजस्ता विद्युतीय माध्यमबाट गरिने बैंकिङ कारोबारमा लाग्ने खर्च स्वयम् बेहोर्दै आएका छन् भने नेपालभित्र कुनै पनि बैंकको एटीएम प्रयोग गर्न सक्ने सुविधा पनि दिएका छन् ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले यसै साता ल्याएको निर्देशिका बमोजिम चैत महिनामा भुक्तानी हुने ब्याज रकमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएअनुसार बैंकहरुको ब्याज आय करोडौंले घट्ने भए पनि ऋणीहरुलाई राहत पुग्ने संघले बताएको छ ।

चैतको किस्ता असारमा तिर्न मिल्ने व्यवस्थाले पनि बैंकहरुलाई व्यय भार थप्ने तर ऋणीहरुलाई रहत हुने उसको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here