दक्षिण एशियाको आर्थिक वृद्धि ४० वर्षयताकै खराब, मन्दीको चेतावनी !

काठमाडौं, २ बैशाख । कोरोना भाइरसका कारण दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै खराब हुने विश्‍व बैंकले प्रक्षेपण गरेको छ ।

विश्‍वको उदाउँदो अर्थतन्त्र मानिएको दक्षिण एशियामा कोरोना भाइरस संक्रमण गम्भीर नकारात्मक पार्ने प्रक्षेपण गर्दै दक्षिण एशियाका कम्तीमा आधा देशहरूमा गम्भीर आर्थिक मन्दीमा देखिन चेतावनी दिएको छ ।

भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तानमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म कम भए पनि ती देशहरूमा सङ्क्रमण ह्वात्तै बढ्न सक्ने विज्ञहरूको भनाइ छ।

एक अर्ब ८० करोडभन्दा बढी मानिसको बसोबास रहेको दक्षिण एशियामा केही यस्ता शहर पनि छन्, जसमा विश्‍वमै सर्वाधिक जनघनत्व छ ।

‘दक्षिण एसियामा यसको प्रभाव देखिन थालिसकेको छ,’ विश्‍व बैंकको रिपोर्टमा भनिएको छ, ‘पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’

बैंकका अनुसार कोरोना भाइरसको संक्रमणअघि दक्षिण एशियाको कुल आर्थिक वृद्धि ६ दशमलव आठ प्रतिशत हुने अनुमान थियो । तर,
महामारीका कारण दुई दशमलव आठ प्रतिशत विन्दुले यसमा गिरावट आउन सक्ने बैंकको अनुमान छ ।

यस क्षेत्रका आठमध्ये आधाभन्दा बढी मुलुक गम्भीर आर्थिक मन्दीको चपेटामा पर्ने बैंकको आकलन छ ।

आर्थिक मन्दीको सबैभन्दा ठूलो चपेटामा माल्दिभ्स पर्ने विश्‍व बैंकले बताएको छ । दक्षिण एशियाका कम्तीमा आधा देशहरूमा गम्भीर आर्थिक मन्दीमा देखिन सक्छ। सबैभन्दा ठूलो असर माल्दीभ्समा देखिने छ। महँगो पर्यटनले धानेको त्यहाँको आर्थिक उत्पादन १३ प्रतिशतसम्मले घट्ने छ।

दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको भारतमा १.५ प्रतिशत मात्रै वृद्धि हुने छ जुन शुरूमा प्रक्षेपण गरिएको भन्दा ३.५ प्रतिशतले कम हो। पाँच प्रतिशतमा झर्न सक्ने भविष्यवाणी विश्‍व बैंकको छ ।

विश्व बैंकले यहाँको सरकारहरूलाई स्वास्थ्य आपत्‌कालमा आफ्ना नागरिकहरूलाई जोगाउन र द्रुत आर्थिक गतिका लागि तयार हुने गरी कार्य गर्नू सुझाव दिएको छ।

विश्व बैंकले वैदेशिक रोजगारीमा गएकाहरूका लागि अस्थायी रोजगार योजना, एवम् व्यापारी र व्यक्तिहरूका लागि ऋण राहत दिँदै अत्यावश्यक आयात निर्यातका लागि प्रशासनिक झन्झट कम गर्न सुझाव दिएको छ। एजेन्सी