कोरोना बीमामा कडाइ, विदेशबाट फर्किएकालाई बीमालेख खरीद गर्न नयाँशर्त

काठमाडौं, १० जेठ । विश्वमा बढ्दो कोरोना भाइरसको संक्रमणसँगै कोरोना बीमालेख प्रति मानिसको आर्कषण देखिएपछि कोरोना बीमामा कडाइ गरिएको छ ।

बीमा समितिले पछिल्लो समय भारतबाट र अवस्था केही सहज भएपछि अन्य देशबाट समेत नेपालीहरु स्वदेश फर्किने लहर चलेपछि यस्तो व्यक्ति बीमालेखमा सहभागिताको सुनिश्चितताका लागि विशेष खालको अण्डरराइटिङ निर्देशन जारी गरेको हो ।

उक्त निर्देशनमा कुनै पनि व्यक्ति भारत लगायत अन्य विदेशी मुलुकबाट नेपाल आई क्वारेन्टिनमा १५ दिन बसेपछि आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्र यो बिमालेख खरीद गर्नसक्ने उल्लेख गरिएको छ ।

विदेशबाट नेपाल फर्किएको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडिटी परीक्षण गराई सोको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने, क्वारेन्टिनमा १५ दिन बसेको विषय स्थानीय तहले प्रमाणित गर्नुपर्ने, आरडिटी रिपोर्ट पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत निकायहरुबाट प्रमाणित भएको हुनुपर्ने शर्तहरु समेत तोकिएका छन् ।

यसअघि यस्तो बीमालेख खरीद गरेको १५ दिनपछिदेखि नै पीसीआर रिपोर्ट पोजिटिभ आए बिमांक रकम तत्काल भुक्तानी पाउने व्यवस्था थियो ।

त्यस्तै अण्डरराइटिङ कार्यका लागि संलग्न पूरक फारम सबै निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वेबसाइटमा राख्नुपर्ने, साथै उक्त फारम भरी स्वीकृत भएपछि मात्र बिमालेख जारी हुने गरी आफ्नो विद्युतीय बिक्री प्रक्रियामा अनिवार्य रुपमा थप व्यवस्था गर्नुपर्ने समेत समितिले निर्देशन दिएको छ ।

बीमा समितिको निर्देशनमा निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गतेबाट विक्री शुरु गरेको कोरोना बीमालेखा एकमहिनाको अवधिमा कुल १२ हजार ५७८ बीमा मार्फत १ लाख ५९ हजार ९३६ जनाको बीमा भएको समितिले जनाएको छ । त्यसवाट ८ करोड ६१ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ ।

हाल सञ्चालनमा रहेका २० ओटै निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेका छन् ।पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएसँगै विभिन्न कम्पनीहरुले समेत आफ्ना कर्मचारीको सामूहिक रुपमा बीमा गर्न थालेपछि पोलीसी किन्नेको संख्या बढेको समितिको भनाइ छ ।

बीमा समितिले कोरोनाको बढ्दो जोखिमलाई मध्येनजर गर्दै यो पोलिसी ल्याएको थियो । समितिले कोरोना पाजेटिभ देखिन साथ भुक्तानी गर्ने गरी २ किसिमका पोलिसी ल्याएको छ । जसमा १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख छ।

१ लाख रुपैयाँ बराबरको व्यक्तिगत बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत समावेश गरेमा प्रतिव्यक्ति थप ६०० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ ।

यस्तै ५० हजार रुपैयाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बीमा गर्दा ३०० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ । बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बिमा रकम प्राप्त गर्न सकिनेछ ।

कसरी पाइन्छ भुक्तानी ?

बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।

यसरी बीमा पोलेसी किनेका मानिसको कोरोना भाइरस संक्रमण पुष्टी भएको खण्डमा बीमा कम्पनीले १ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने छ ।

त्यसको लागि कुनै किसिमको भौचर वा बिलको आवश्यकता पर्ने छैन । बीमितको कोरोना पोजेटिभ भएको प्रमाणित भएको कागज भए दाबी भुक्तानी हुने छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here