प्रकृतिक विनाशको असर: ५० वर्षमा हड्डीधारी जीवहरूको संख्या दुई तिहाइले कमी

फाइलफोटो

काठमाडौं, २५ भदौं । संसारमा विकासका नाममा जल, थल र नभका स्रोतहरूको व्यापक रूपमा उपयोग भइरहेको छ।

मानिसहरूले यसअघि कहिल्यै नगरेको दरमा प्रकृतिको विनाश गरिरहेको कारण पृथ्वीमा ५० वर्षको अवधिमा हड्डीधारी जीवहरूको संख्या दुई तिहाइले कमी देखिएको वातावरणसम्बन्धी संरक्षणसम्बन्धी वैज्ञानिकहरूको अध्यायनले देखाएको छ ।

विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफले आफ्नो नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो ।

अन्धाधुन्द विकास र उच्च उपभोगको चापले गर्दा पृथ्वीमा पाँच दशकभित्र मात्र हड्डीधारी जीवहरूको संख्यामा ६८ प्रतिशत जति कमी आएको अनुमान छ।

चरा, माछा, स्तनधारी, उभयचर र घर्सने जनावरको विश्वव्यापी सङ्ख्या दुई तिहाइभन्दा बढी घटेको छ । अन्यको अवस्था पनि नाजुकै रहेको बिबिसीले उल्लेख गरेको छ ।

विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र घाँसेमैदानहरूमा रहने हजारौं जीवको अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ ।

वैज्ञानिकहरूले यो कमीलाई ’विध्वंसकारी’ भनी व्याख्या गरेका छन् ।

हिमालका उच्च टाकुरा हुन् या समुद्रका गहिरा पीँध मानव पहुँच बाहिर छैन। पृथ्वीको एक चौथाइ भागमा मात्र मानव दोहनमुक्त होला भन्ने अनुमान छ।

समुद्रहरू जलचरविहीन हुँदै छन् भने जमिन उर्वरविहीन र हिमालहरू हिउँविहीन। बढ्दो जैविक विविधताको ह्रास र पारिस्थितिकीय पतनको समस्यालाई विश्वले हाल भोगिरहेका १० प्रमुख संकटहरूमध्येको एक मानिन्छ ।

विश्वका थुप्रै मुलुकहरूले जलवायु परिवर्तनको असरबाट आउने समस्यालाई त राष्ट्रिय सुरक्षाको समस्याका रूपमा लिन थालिसकेका छन्।

यसबाट हाम्रा समृद्धिका आधार जस्तैः जलस्रोत, पर्यटन र कृषि आदिको विकासमा कस्तो असर पर्ला, कसरी व्यवस्थापन गर्ने आदि बारेमा गम्भीर भएर सोच्नु अति जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here