सरकारले तोकेको समर्थन मूल्यभन्दा १५ प्रतिशत बढीमा धान खरिद

फाइल तस्विर

टीकापुर, १९ कात्तिक । । कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिरहेका छन् । किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुसी भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले आर्थिक वर्ष ०७७/७८ का लागि मोटा धानको प्रतिक्‍विन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्‍विन्टल दुई हजार ८८५ रुपैयाँ न्यूनतम समर्थन तोकेको थियो । कैलालीका केही कृषि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत थप गरी खरिद गरिरहेका छन् ।

कृषि सहकारीले किसानलाई बीउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्‍नत बीउ उत्पादन गर्ने गरेका छन् । यसरी किसानले गुणस्तरीय बीउ उत्पादनका लागि गर्नुपर्ने बाली निरीक्षण, सुपरीवेक्षण, विधि र पद्दतिको प्रयोगबाट उत्पादन भएको बीउलाई सहकारीले महँगोमा खरिद गरिरहेका नमुना बहुउद्देश्यीय सहकारी संस्था टीकापुरका अध्यक्ष जितबहादुर चौधरीले बताए ।

“किसानको उत्पादनले उचित मूल्य पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । हामीले नै बीउ उपलब्ध गराएर किसानलाई बीउ उत्पादनमा प्रोत्साहन गरेका थियौँ,” जितबहादुर भन्छन्, “त्यही बीउ सरकारले तोकेकोभन्दा केही महँगोमा खरिद गरेका हौं । तोकेभन्दा बढी मूल्य पाएपछि किसान खुसी छन् ।”

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा १२ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् । यी सहकारी र कम्पनीले एक हजारभन्दा बढी हेक्टरमा धानको बीजवृद्धि खेती गरी धानको बीउ उत्पादन गर्दै आएका छन् ।

अन्य बाली उत्पादनभन्दा बीउ बाली उत्पादनमा धेरै मेहनत तथा किसानले ध्यान दिनुपर्ने हुनाले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रतिक्‍विन्टल रु ३०० थप गरी किसानबाट खरिद गरिरहेको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले जानकारी दिनुभयो ।

“बीउका लागि गरिने खेतीमा अन्य खेतीभन्दा बढी मिहिनेत लाग्छ,” प्रबन्धक रावतले भने, “सहकारीको बैठक बसेर प्रतिक्‍विन्टल तीन सय बढीमा खरिद गर्ने निर्णय गर्‍यौँ । यसले किसानलाई बीजवृद्धि खेती गर्न प्रोत्साहनसमेत गर्छ ।”

सरकारले किसानबाट खरिद गरेको धानको भुक्तानी १५ दिनभित्र किसानलाई दिइसकेको हुनुपर्ने व्यवस्था गरेको छ । कृषि सहकारीले किसानलाई रकम भुक्तानी गरेको प्रमाणको आधारमा सहकारीले सरकारबाट अनुदान पाउने व्यवस्था छ ।

सरकारको समर्थन मूल्यभन्दा बढी नै मूल्यमा धान खरिद गरे पनि किसानलाई तत्काल नगद रकम दिइरहेको धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिंह साउदले बताए । “हामीले प्रतिक्‍विन्टल चार सय बढीमा खरिद गरिरहेका छौँ,” अध्यक्ष साउदले भने, “वर्षभरि खेती गरेका किसान यतिखेर धान बेचेर हिउँदे खेती गर्ने तयारीमा छन् । हामीले नगद दिएर नै खरिद गरिरहेका छौँ ।”

बजारमा गल्ला व्यापारीले यही धान दुई हजार एक सयसम्म मात्र मूल्य दिने गरेका छन् । टीकापुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत धान खरिद सुरु गरेको छ । किसानले खाद्यमा मोटा धान प्रतिक्‍विन्टल दुई हजार ७३५ र मध्यम धान प्रतिक्‍विन्टल दुई हजार ८८५ रुपैयाँमा बिक्री गरिरहेका छन् ।

सहकारीमा बिक्री गर्नेले यसमा १५ देखि २० प्रतिशत थप रकम पाइरहेका छन् । स्थानीय रामदुलारे चौधरी बजारको मूल्यभन्दा करिब एक हजार रुपैयाँ बढी रकम पाउनु किसानका लागि खुसीको कुरा भएको बताए । “यस वर्ष किसानले खेती गरेर उचित मूल्य पाएका छन्,” उनले भने, “मैले हिजो बिक्री गरेँ । अब किसान ठगिने दिन अन्त्य भएछन् जस्तो लाग्यो ।” -रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here