१०६ देशमा फैलियो ‘ओमिक्रोन’, भारतमा सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा

काठमाडौं, ७ पुस । पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको १०६ मुलुकमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ ।

यससँगै अस्पताल भर्ना गर्नुपर्ने विरामीको संख्या बढेको जानकारी दिएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ।

‘हालैका तथ्यले ओमिक्रोनका संक्रमित वृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता धेरै रहेका एवं समुदायमा संक्रमण फेला परेका मुलुकमा समेत तीव्र रुपमा फैलिइरहेको देखाउँछन्,’ डब्ल्यूएचओले भनेको छ ।

वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन्।

छिमकी मुलुक भारतमा समेत ओमिक्रोनका संक्रमित बढिरहेका छन् । भारतमा बुधबारसम्म यो भेरियन्टबाट २१३ संक्रमित भइसकेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् ।

ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्फी त्रास बढ्दो छ।

डब्लुएचओले साप्ताहिक इपीडेमीओलोजिकल रिपोर्टमा ओमिक्रोन भेरियन्टको कारणले हुनसक्ने रोगको गम्भीरता र यसको उत्परिवर्तनले भ्याक्सिनले उत्पन्न गरेको रोग प्रतिरोधात्मक क्षमता कम गर्ने बारे अध्ययन गर्न पर्ने समेत बताएको छ ।

डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कम खतरनाक मानिएपनि यसबाट अस्पताल भर्ना हुनेको संख्यामा भने बृद्धि हुने प्रक्षेपण गरिएको छ ।

नोभेम्बर २६ मा डब्लुएचओले ओमिक्रोन भेरियन्ट बारे खुलासा गरेको थियो । जुन पहिलोपटक दक्षिण अमेरिकामा पत्ता लागेको थियो । दक्षिण अफ्रिकामा कोभिड १९ दोब्बरले बढेको पाइएकोे छ । त्यस्तै जिम्बावे, नामिविया, लेसोथोलगायतमा यसको केश बढेको छ ।

हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरु यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here