फेसबुकले मान्छेको अनुहार चिन्ने सफ्टवेयर नराख्ने

१९ कात्तिक, काठमाडौं । फेसबुकले अब तस्वीर तथा भिडियो अपलोड गरेपपछि स्वतः मानिस पहिचान गर्ने सफ्टवेयर अब प्रयोग नगर्ने भएको छ । अनुहार चिन्ने प्रविधिको प्रयोगका विषयमा निरन्तर प्रश्न् उठेपछि फेसबुकले यस्तो घोषणा गरेको हो ।

सो प्रविधिको प्रयोग हुँदा गोपनीयता, जातिगत पूर्वाग्रह तथा प्रविधिको यथार्थपरकताप्रति प्रश्न उठेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । फेसबुकका अनुसार नियामक निकायहरूले उक्त प्रविधि कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा स्पष्ट नियम भने बनाएका छैनन्।

यद्दपी त्यो प्रविधि चलाउँदा प्रयोगकर्तामा पर्ने प्रभावका कारण फेसबुकको चर्को आलोचना भइरहेको छ । फेसबुकमा प्रयोगकर्तालाई अनुहार चिन्ने सुविधा चलाउने कि नचलाउने रोज्न दिइएको थियो।

चलाउन इच्छुक प्रयोगकर्तालाई फेसबुकले अरूले तिनको तस्बिर प्रेषित गरेको पत्ता लगाएर सूचित गर्थ्यो। एउटा ब्लगमा फेसबुकको आर्टिफिशल इन्टेलिजन्स हेर्ने उपाध्यक्ष ज्रोम प्रेजेन्टीले विद्यमान अन्योलका बीच अनुहार चिन्ने प्रविधिको प्रयोग सीमित रूपमा गर्नु उचित हुने बताएको बीबीसीले लेखेको छ ।

सन् २०१९ मा अमेरिकामा गरिएको एउटा अध्ययनका अनुसार फेसबुकले प्रयोग गरेको एल्गोरिदम कोकेजन मूलका मानिसको अनुहारको तुलनामा अफ्रिकी अमेरिकी र एशियाली मूलका मानिसको अनुहार चिन्न धेरै कम सक्षम थियो।

अफ्रिकी अमेरिकी महिलालाई अर्कै व्यक्तिका रूपमा चिन्ने सम्भावना बढी भएको न्याश्नल इन्स्टिट्यूट अफ स्ट्यान्डर्ड्स एन्ड टेक्नोलजीको अध्ययनले देखाएको थियो। फेसबुकले तस्बिर स्क्यान गर्ने र ट्याग गर्ने तरिकाबारे चलिरहेको एउटा लामो मुद्दा गत वर्ष मात्रै टुङ्गिएको थियो। उक्त मुद्दा सन् २०१५ देखि चलिरहेको थियो।

फेसबुकले प्रयोग गरेको अनुहार छुट्ट्याउने प्रविधि इलिनोय राज्यको गोपनीयतासम्बन्धी कानुनविपरीत भएको तर्क गर्ने प्रयोगकर्ताहरूको एउटा समूहलाई उक्त कम्पनी ५५ करोड डलर दिन सहमत भएको थियो।
अनुहार चिन्ने प्रविधि विवादास्पद भएका कारण एमजन र माइक्रोसफ्ट कम्पनीले उक्त प्रविधि प्रयोग भएका उत्पादनहरू प्रहरीलाई बेच्न रोकेका छन्।

गत महिना एक पूर्वकर्मचारीले फेसबुकको व्यवहार अनैतिक भएको आरोप लगाएकी थिइन्। धेरै आन्तरिक दस्ताबेज सार्वजनिक गर्दै तिनबाट फेसबुकले प्रयोगकर्ताको सुरक्षाभन्दा पनि नाफालाई प्राथमिकता दिएको देखिने उनको दाबी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here