अर्जुन न्यौपाने
काठमाडौं । नेपालका कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य राज्यको नजरवाट टाढिएपनि विश्वको लागि कुनै अपरिचित नाम होइन । उनले सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर बनाएर विश्वलाई चकित पारिदिएका थिए ।
तिनै व्यक्ति नेपालका लागि गुमनाम बनिरहेका छन्, कारण ४० वर्ष अघिको विज्ञान तथा प्रविधिको ज्ञानभण्डार र क्षमता भएका शाक्यको कम्प्युटर आविष्कारलाई प्रयोगमा ल्याउन न त सरकार न त सूचनाप्रविधि क्षेत्रका व्यवसायी नै चासो देखाए ।
आइबिएम कम्पनीभन्दा २ वर्ष पहिले माइक्रो कम्प्युटर नेपालबाटै बनाउने क्षमता भएका शाक्यको आविष्कारहरु पछि पर्नुमा विज्ञान तथा सूचना प्रविधिमा राज्यको चासो नहुनु प्रमुख कारण हो भन्न सकिन्छ ।
नत्र माइक्रो कम्प्युटर, सुपर कम्प्युटर देवनागरी कम्प्युटर र अहिले ग्रीन कम्प्युटर बनाएका शाक्यका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक र आजको पुस्ताका लागि पनि विज्ञान प्रविधिमा ठीक हुँदा हुँदै पनि किन प्रयोगमा आएन, किन प्रयोगमा ल्याउन दिइएन त ?
उमेरले ७३ वसन्त पार गरिसकेका शाक्यको विज्ञान प्रविधिप्रतिको जोश र जाँगर अझैपनि किशोर अवस्थाको भन्दा कम छैन् । आजभन्दा ४० वर्ष पहिले, सन् १९७९ मा माइक्रो कम्प्युटर अविष्कार गरेका शाक्य सरकारको नजरवाट अहिले पनि टाढा छन् ।
सन् १९७० को दशकसम्म विश्वमै सूचना प्रविधि अर्थात् कम्प्युटरको विकास नभएको अवस्थामा शाक्यले सबैलाई आश्चर्य पार्दै माइक्रोचिप्स प्रयोग गरी कम्प्युटर निर्माण गरेका थिए त्यो पनि नेपालबाटै ।
आइबिएम जस्तो कम्पनी जसले त्यतिबेला माइक्रोकम्प्युटर बनाउने सोच गरिरहेको बेला एउटा साधारण नेपाली प्रतिभाले माइक्रो चिप्स प्रविधिमार्फत पहिलो माइक्रो कम्प्युटर नेपालबाटै बनाउन सफल भए ।
माइक्रो कम्प्युटर बनाएर शाक्य चुप लागेर बसेनन् । सन् १९८३ मा देवनागरी पहिलो नेपाली कम्प्युटर बनाएर सफल प्रयोग समेत गरेर देखाए । सन् २००६ मा शाक्यले सुपर कम्प्युटर बनाए ।
हाल शाक्यले ३५ वाटबाट चल्ने ग्रिन कम्युटर बनाएर सफल प्रयोग समेत नेपालबाटै गरिसकेका छन् । नेपालमा नै बनेको ग्रीन कम्प्युटरले जम्मा ३५ वाट बिद्युत मात्र खपत गर्दछ, जसलाई एउटा सानो सोलार प्यानलबाट पनि दैनिक १८ घण्टा भन्दा बढी चलाउन सकिन्छ ।
लोडसेडिङको मार खेपिरहेको बेला शाक्यले बनाएको ग्रीन कम्युटर त्यसबेलाको देश सुहाउदो प्रविधि भए पनि सरकारी वेवास्ता र निजी क्षेत्रको हेपाईको कारण अविष्कारहरु ओझेलमा परेका छन् ।
३५ वाट विद्युत क्षमतामा चल्ने कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेकोले ग्रीन प्रविधिको कम्प्युटर त्यस समयको उर्जा संकटको उत्तम विकल्प रहेको शाक्यको दावी छ ।
उनको अविष्कारलाई चीन, जापान र अन्य थुप्रै देशका सञ्चारमाध्यमले यो खबर प्रमुखताका साथ प्रकाशन–प्रसारण गरे पनि नेपालमा उनको आविष्कार म्युजियमको रुपमा बेखबर बनिरहेको छ ।
शाक्यको प्रतिभालाई देखेर अमेरिकाको एक कम्पनीले उतै बस्न आग्रह गरे पनि त्यसलाई अस्वीकार गर्दै आफ्नै देशमा विज्ञान प्रविधिमा नवीनतम काम गर्ने सोचका साथ नेपाल फर्किए र वि. सं २०४२ सालमा हाइटेक पायोनियर नामको पहिलो कम्प्युटर बनाउने कम्पनी खोलेर कम्प्युटर र यसका पार्ट्सहरूको इनोभेसनमा लागिरहे ।
करिब डेढ दर्जन हार्डवेयर र सफ्टवेयर उत्पादन गरेका शाक्यको प्रविधितर्फको अद्भूत क्षमतालाई नेपाल सरकारले साथ मात्रै दिएको भए नेपालले कम्प्युटर निर्माणको क्षेत्रमा ख्याति कमाउने शाक्य बताउँछन् ।
आफ्नो व्यक्तिगत स्वार्थको लागि नभई नेपाल सरकारलाई चिनाउन करोडौं मूल्य बराबरको कम्प्युटर बनाउने मेशिन भित्र्याएका सो मेशिन अहिले एउटा कोठामा अलपत्र अवस्थामा थन्किएको छ । नेपालमा ४० जना भन्दा बढि इन्जिनियरहरुलाई रोजगार दिईरहेका शाक्य अहिले एक्लै बन्न पुगेका छन् ।
देवनागरी कम्प्युटर
एउटै कम्प्युटरमा भएको कामलाई २ सयभन्दा बढी कम्प्युटरबाट हेर्न सक्ने सुपर कम्प्युटर बि.सं २०६३ सालमा बनाएका शाक्यले सन् १९८३ मा नेपाली माध्यमबाट देवनागरी लिपिको कम्प्युटर बनाएका हुन् ।
शाक्यले बनाएका थुप्रै रोचक प्रविधिहरूमा आर्टिफिसियल इन्टेलिजेन्स सहितको रोबोर्ट, सेक्युरिटी यन्त्र उपकरण र अन्य थुप्रै कम्प्युटरका ग्याजेटहरू छन् ।
आवाजबाटै पानी तान्न, बत्ती बाल्न र निभाउन, रेडियो बजाउन र बन्द गर्न, छुनै नपर्ने उपकरणहरू अहिले शाक्यको एउटा घरमा शो को रुपमा थन्किएका छन्। ए ब्रेन अफ कम्प्युटर, सुपर कम्प्युटर, नेपाली बोल्ने रोबोर्ट, ग्रिन कम्प्युटर शाक्यले निर्माण गरेका उत्कृष्ट नमूना हुन् ।
नेपालका कम्प्युटर वैज्ञानिक शाक्यले भ्वाइस रिकग्नाइनेशन सिष्टम, भ्वाइस डिक्सनरी, कम्प्युटर सहायता शिक्षा, नेपाली टु इङलिस, इङलिस टु नेपाली डिक्सनरी, विकिरण मनिटर, नेपाली सबटाइटल डिस्प्ले, नेपाली मल्टिमिडियालगायत प्रोग्राम निर्माण गरेका छन् ।
शाक्यले बनाएका कम्प्युटर कहाँ-कहाँ प्रयोगमा आए
शाक्यले बनाएको कम्युटर सन् १९८६ मा ८५ हजार रुपैयाँका दरमा कृषि विकास बैकले १६ वटा र एक वटा अर्थमन्त्रालयले किनेका थिए । उनको यो प्रविधिलाई जापानिज नागरिकले समेत किनेर लगेका थिए ।
पछिल्लो समय उनले निर्माण गरेका ग्रिन कम्युटर पहाडी इलाकामा सञ्चालित विद्यालयहरुमा लागि अति उपयोगी रहेको छ र ग्रामीण स्कूलको पुस्तकालयका लागि युनाइनेट मिसन टु नेपालले ५ सय वटा किनेर लगेको शाक्यले बताए ।
नेपाल बैंकले ११७ वटा प्रयोगमा ल्याएको शाक्य बताउँछन् । प्रविधि चिन्ने जान्नेहरुले सयौं संख्यामा किनेर लगे मुनि शाक्य भन्छन्, सूचना प्रविधिका अभियन्ता महावीर पुनले समेत केही कम्प्युटर आफ्नो अभियानका लागि उपयोगी भन्दै किनेर लगे ।
के गर्दैछन् कम्युटर वैज्ञानिक शाक्य अहिले
शाक्य हाल घट्टेकुलोस्थित ३ तले भवनमा बस्दै आएका छन् । उनको दिनचर्या नजिकैको कम्प्युटर फ्याक्ट्री तथा म्युजियम पायोनियर प्रालिमा नै बित्ने गरेको छ । फुर्सदको समयमा अझै पनि उनी नयाँ नयाँ प्रविधिका बारेमा सोच्ने, त्यससम्बन्धी पत्रिका पढ्ने गर्दछन् ।
फ्याक्ट्री पुग्नु, आफ्ना आविस्कारको सुरक्षा र संरक्षण गर्नु तथा नयाँ आविस्कारमा घोत्लिनु शाक्यको दिनचर्या हो । रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्समा औधी रुचि राख्ने शाक्य कुशल तबलावादक पनि हुन् भने उनि सजिलै १० ओटा भाषा बोल्न सक्छन् ।
कसरी बने शाक्य कम्युटर वैज्ञानिक ?
शाक्यले अध्ययनका क्रममा भारत, फ्रान्स, सिंगापुर, हङकङ, जापानलगायत देशमा २१ बर्ष बिताए । उनले सन् १९६५ मा भारतबाट रेडियो इलेक्ट्रोनिक्सको कोर्स गरेका हुन् भने सन् १९७२ मा ब्रिटिश काउन्सिलको छात्रवृत्तिमा कम्प्युटर इन्जिनियरिङ गरेका थिए ।
अध्ययन र कामको सिलसिलामा फ्रान्समा रहँदा उनले माइक्रोप्रोसेसरबाट कन्ट्रोलर र भिडियो कार्ड बनाएका थिए भने युकेमा निर्मित माइक्रोप्रोसेसरबाट नेपालमै पहिलो माइक्रो कम्प्युटर बनाएका थिए ।
शाक्यको आविस्कार उनको क्षमता र कार्यकौशलको विकास र प्रवद्र्धनमा सरकारले आवश्यक ध्यान दिन नसके पनि २ दर्जनभन्दा बढी अन्तरराष्ट्रिय र राष्ट्रिय सम्मानबाट उनी सम्मानित भएका छन् ।
उनका आविस्कार नेपाली र विदेशी बजार पुग्न नसके पनि क्षमता र नवीनताको प्रशंसाका लेख समाचारहरु नेपाली र अंग्रेजी म्यागेजिनहरुमा छापिएका छन् । घरको भित्ताको एक कोठामा उनको सम्मानले भरिएको छ ।
पछिल्लो समय ढल्किदै गएको उमेरका कारण शाक्यलाई नेपालको एक मात्र कम्प्युटर म्युजियमका रूपमा रहेको उनको निजी सङ्ग्रहालयलाई सरकारले बृहत् रूपमा सञ्चालनमा ल्याउन सहयोग गरोस् भन्ने र बनेपाको आइटी पार्कमा आफैले खरिद गरेका र बनाएका कम्प्युटरका कारखाना राखेर उत्पादन गर्ने उनको इच्छा रहेको छ ।
राज्यले लगानी गरिदिने हो भने नमुनामुलक आइटी पार्क, कम्प्युटर उत्पादन केन्द्र, टेलिमेडिसिन, विज्ञान प्रविधिको रिसर्च एण्ड डेभलपमेन्टमा हाइटेक पायोनियरको साथ आफुले २ वर्षमा नै सम्पन्न गरिदिने प्रतिबद्धता कम्प्युटर वैज्ञानिक मुनि शाक्यले गरेका छन् ।
राज्यले पहिचान मात्र दिए जीवनको अन्तिम समयसम्म निस्वार्थ भएर विज्ञान तथा सूचना प्रविधिमा लाग्ने दृढ इच्छा शक्ति शाक्यको छ । उनको ती कम्युटरहरुलाई संग्रालयको रुपमा राख्ने प्रक्रियापनि अघि बढिसकेको छ ।